स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिताको फाइनल तथा स्रष्टा सम्मान कार्यक्रम आज

पोखरा । स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता–२०७७ मा उपाधिका लागि आज २१ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

स्टार्स स्टुडियो प्रालि पोखरा र स्टार फाउन्डेसन नेपालको वार्षिकोत्सवको अवसरमा यो प्रतियोगिताको आयोजना गरिएको हो ।

आज शनिवार बिहान ११ बजे पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुने प्रतियोगिताको फाइनलमा पुग्नेमा कास्कीका प्रिती गुरुङ, कृषा जिसी, अन्जना गुरुङ, सावित्री राना, विवेक थापा, रिमा गुरुङ, बन्दना घर्ती, ओशिका गुरुङ, अमृत सुनार, सरिता मगर, जमुना गुरुङ रहेका छन् ।

यसैगरी काठमाण्डौँका नेशान सुश्लिङ मगर, मोनिका गुरुङ, सुदन खड्का, पूर्णिमा शाह, त्यस्तै धनकुटाकी प्रविता शंकर, कांकडभित्ताकी परीक्षा तामसुहाङ, स्याङजाकी संजना रानामगर, रुपन्देहीकी मलिषा थापामगर, रोशनी गुरुङ र नेपालगञ्जका दुर्गा रानामगर अन्तिम २१ मा छनोट हुँदै फाइनलमा पुगेका छन् ।

खुल्ला एकल नृत्य प्रतियोगितामा सबै उमेर समूहका जुनसुकै ठाउँमा रहेका नेपालीले भाग लिन पाउने गरेर नियम बनाइएको थियो । प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आफू नाचेको भिडियो सम्पादन नगरिकन इमेल वा ह्वाट्सएप मार्फत पठाएका थिए ।

प्रतियोगिताको लागि कूल ४ सय ९८ जनाले सहभागिता जनाएको थियो । अर्थ राउण्ड भनिएको ४ सय ९८ जना मध्येबाट मुन राउण्डको लागि १ सय ५३ जना छानिएको थियो । त्यसपछि मुन राउण्डबाट सन राउण्डमा ५० जना छनोट भए भने स्टार्स राउण्डको लागि २१ जना छानिएका हुन् ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ र तृतीय हुनेले १२ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगीताको निर्णायकमा कमल राई, महेश गोदार, स्वजन राजवंशी रहेका छन ।

त्यस्तै आजै स्टार्स सांस्कृतिक सम्मानमार्फत ४ जना श्रष्टालाई सम्मान गरिने भएको छ । सम्मानित हुनेहरुमा पोखराका गजेन्द्र गुरुङ, सुर्खेतका प्रेमदेव गिरी, काठमाडौंकी बिना जोशी र इलामका रोशन कर्माचार्य छन् । संस्कृति र सांस्कृतिक नृत्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्न लागिएको स्टार्स स्टुडियो पोखराकी सञ्चालक जसु गुरुङले जानकारी दिइन् ।

प्रतियोगिताको अघिल्लो दिन साँझ डेमो चिल्ड्रेन होमले स्वागत कार्यक्रमको आयोजनासमेत गरिएको थियो ।

Leave a Reply