कोरोना संक्रमणबाट बच्‍नका लागि सतर्कता अपनाउन सीसीएमसीको अपील

कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।

सीसीएमसीको शनिवारको बैठकले पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको थियो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए ।

यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Leave a Reply