बैशाख २१ गतेसम्मको लागि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय बन्द रहने

-


     मर्दी न्युज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित


पोखरा । नेपाल पर्वतारोहण संघ मातहत रहेको पोखरा -१७ ,रातोपैर्हो स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आगन्तुकहरुको लागि यही बैशाख २१ गतेसम्म बन्द रहने छ।

कोरोना (कोभिड–१९) भाइरसको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिएको र सोही कारण कास्की जिल्ला प्रशासनले एक हप्ताको लागि बन्दाबन्दी( लकडाउन) घोषणा गरेको कारण संग्रहालय बन्द गर्नुपरेको बताइएको छ।
आगन्तुकहरुको लागि बन्द गरिएतापनि संग्रहालय परिशर भित्र सुचारु निर्माण, मर्मतका काम, सरसफाइ तथा सौन्दर्यिकरणका कार्यहरू यथावत रूपमा चलेकोले  यहाँ कार्यरत कर्मचारीहरु आफ्नो कार्यतालिका बमोजिम  उपस्थित भइ सक्रियता पुर्वक काममा  खटिएको प्रशासन सहायक उज्ज्वल अधिकारीले  जानकारी दिनुभयो।


संग्रहालयको मुख्य भबन तथा त्यसभित्रको आकर्षणहरु को अलावा धातु निर्मित चौरी(याक) को वास्तविक साइजको मुर्ति, मनासलु हिमालको प्रतिरुप, हालै निर्मित बोटानिकल गार्डेन, सुन्दर पुल , भब्य र चिरिच्याट्ट परेको रेस्टुरेन्ट आदिका कारण सामुहिक तस्वीर खिच्ने , टिकटक तथा छोटो भिडियो बनाउने लगायतका युवा पुस्ताका लागि संग्रहालय परिशर पछिल्लो समय निर्बिकल्प गन्तव्य बन्दै गरेको थियो।