राष्ट्रपति र प्रधानमन्त्रीको पद अस्वीकार गरेको व्यक्ति हुँ: शेरचन

गण्डकी प्रदेश प्रमुख पदबाट बर्खास्त गरिएका अमिक शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद विगतमा अस्वीकार गरेको बताएका छन् । मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफू पदको लोभी नभएको प्रष्टीकरण दिए । उनले पत्रकारलाई वितरण गरेको प्रेस वक्तव्यमा भनेका छन्, “पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यबाद । म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञ (एक?)देव आले, क.निर्मल आले (लामा ?)र क.मोहन विक्रम सिंहजस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरेँ । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिन ।”

उनले आफू वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा चार वर्षजति जेलयातना र हजारौँ पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति समेत भएको बताए ।

Leave a Reply