जापानमा जून २० सम्म थपियो आपतकालीन अवस्था

सन थापा,
जापान । जापान सरकारले आपतकालीन अवस्था जून २० सम्म थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार कोरोना भाईरस कार्यदलको बैठकमा टोकियो सहित नौ प्रान्तमा आपतकाल थप्ने घोषणा गरेका हुन् । उक्त बैठकमा आर्थिक पुनरूत्थान मन्त्री यासुतोशी निशिमुरा र स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री नोरिहिसा तामुरा सहभागी थिए ।

अप्रील २५ देखि टोकियो, ओसाका, ह्योगो र क्योतो प्रान्तमा र मे १२ देखि फुकुओका र आइची प्रान्तमा आपतकाल लागू गरेको थियो । त्यसैगरी मे १६ देखि होक्काईदो, ओकायामा र हिरोसीमा र ओकिनावामा मे २३ देखि आपतकालीन अवस्था लागू गरेको थियो ।

२४ घण्टामा ३७०८ जना संक्रमित ९५ को मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९५ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ७ लाख ३९ हजार २ सय पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १२ हजार ८ सय ५३ जना पुगेको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ६ लाख ६० हजार ३ सय ९१ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये १ हजार ३ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ भने ५८ हजार ५ सय १५ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

बुधबार ७३ हजार ५ सय ९० जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज १० प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ६ सय १४, होक्काइदोमा ४ सय २३, आईचीमा ३ सय ८३, ओकिनावामा ३ सय १३, ओसाकामा २ सय ९०, खानागावामा २ सय ६०, फुकुओकामा १ सय ९२, हिरोसीमामा १ सय २३, चिबामा १ सय १९, साईतामामा १ सय पाँच जना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू

टोकियोमा १ लाख ५९ हजार ७ सय आठ, ओसाकामा ९९ हजार २ सय आठ, खानागावामा ६० हजार ८ सय ८५, आईचीमा ४६ हजार ४ सय ९६, साईतामामा ४३ हजार ४ सय ३०, ह्योगोमा ३९ हजार ४ सय ८०, होक्काईदोमा ३६ हजार ९ सय ५०, चिबामा ३६ हजार ८ सय ५२, फुकुओकामा ३३ हजार ६ सय ९७, क्योतोमा १५ हजार ६ सय ८६ र ओकिनावामा १६ हजार २ सय ९६ जना संक्रमित भएका छन् ।

Leave a Reply