अन्नपूर्ण आरोहण दिवस (जून ३ तारिख) को अबसरमा पोखरामा हाल सम्म गरिएका कार्यक्रमहरु

बिश्वका आठहजार मिटरभन्दा अग्ला १४ वटा शिखर मध्ये १० औं स्थानमा रहेको अन्नपूर्ण प्रथम (८०९१ मि) को सन् १९५० जून ३ तारीख (आजकै दिन) फ्रान्सेली नागरिक मौरिस हेर्जोगले मानव जातिको पहिलो पाइला चुचुरोमा पुर्याउन सफल भएका थिए । उनको साथमा लुइ लिचेनेल ले पनि सोही दिन आरोहण गरेका थिए ।

यस क्रममा थुप्रै स्वदेशी तथा बिदेशी उत्साही आरोहीहरुले अन्नपूर्ण आरोहणमा सफलता पाएको लामो शृङ्खला मानव जातिको गौरवको बिषय हो। सन् २०२१ सम्ममा ३०९ जना आरोहीहरुले चुचुरो चुम्न सफल भएका छन् ।

यस ऐतिहासिक दिनको संझना हरेक पर्वतारोही तथा पर्वतारोहण प्रेमी, संबद्ध ब्यबसयिहरुले गर्दछन। उहाँप्रति अशिम श्रद्दा व्यक्त गर्दछन् । नेपाल पर्वतारोहण संघले हरेक बर्ष विविध कार्यक्रमहरु गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरेको इतिहास भेटिन्छ ।

संघको मातहत रहेको नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश (तत्कालीन अन्नपूर्ण च्याप्टर) ले आफ्नो स्थापनाकाल (बि सं २०६० साल) देखि नै विभिन्न कार्यक्रमहरु गरि यो दिवस भब्यरुपमा मनाउदै आएको छ ।

औपचारिक र पहिलो बृहत कार्यक्रम २०६४ सालमा प्रथम परिचयात्मक पर्खाल आरोहण २००७ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा रहेको मौरिस हर्जोग क्लाइम्बिङ्ग वालमा पोखरामा रहेका पत्रकारहरु र उच्च मा. बि. मा पढ्ने बिद्यार्थीहरु लक्षित भब्य कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाएको थियो ।

बि.सं. २०६५ सालमा दुईजना अन्नपूर्ण आरोहीहरु हेनरी सिगारे (फ्रान्स) र जाओ ग्रेसियर (पोर्चुगल) लाई पोखरामा सम्मान र हाइ टि सहित मनाएको थियो । बि.सं. २०६७ सालमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको हलमा हिमाल र मौसम परिवर्तन Climate Change and our Mountains बिषयक अन्तर्कृया गरेर जनचेतना जगाउने प्रयास गरिएको थियो ।

अर्को बृहत कार्यक्रम बि.सं. २०६८ साल मा नेपाल पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टर का तत्कालीन सल्लाहकार श्री बिक्रम पाण्डेको मार्गनिर्देशनमा HIMEX, Adventure Sport Tourism Society सँगको संयुक्त आयोजना Mauric Herzog-Harka Gurung Annapurna Marathon अन्नपूर्ण बेसक्याम्प देखि धम्पुस गाउँ ४२.१९५ किमि सम्पन्न गरेर मनाइएको थियो भने स्वदेशी र बिदेशी धावक हरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

बि सं २०६९ मा अन्नपूर्ण क्षेत्रको दिगो पर्यटन बिकासका संभावना र चुनौतीहरु बिषयक अन्तर्कृया कार्यक्रम गरेर मनाइएको थियो । बि. सं. २०७० मा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, अन्नपूर्ण नाम जोडेर स्थापना भएका व्यावसायिक संस्थाहरु We the Annapurna सहितको सहकार्यमा पहिलो अन्नपूर्ण आरोहण दलका सदस्य फु तार्के शेर्पालाई पहिलोपटक भब्य सम्मान गरिएको थियो, सोही अबसरमा प्रख्यात अन्नपूर्ण आरोहीहरु मिङमा शेर्पा तथा छाङ्ग दावा शेर्पालाई पोखरामा सम्मान गरिएको थियो ।

बि सं २०७१ साल मा प्रभातफेरी, माउन्टेन आर्ट कम्पिटिसन लगायतका अलि पृथक कार्यक्रम गरिएको थियो भने आरोही पासांग टेण्डी शेर्पालाई संमान गरिएको थियो । २०७२ साल मा महाभुकम्प तथा राष्ट्रीय बिपत्तिको अवस्था भएकोले औपचारिक कार्यक्रम नगरेपनि भुकम्प लगायत विभिन्न कारण बाट ज्यान गुमाएका ज्ञात अज्ञात आरोही तथा पर्वतीय पर्यटन श्रमिकहरु लाई श्रद्धाञ्जली अर्पणगर्न को लागि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिशरमा रहेको छ्योर्तेन मा बौद्ध परम्परा अनुसार दीप प्रज्वलन गरि संस्थापक अध्यक्ष हरिध्वज तुलाचन को अगुवाइमा पुजापाठ तथा शान्तिस्वस्ती गरेर मनाइयो ।

सन् २०१६ मा पनि अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा विविध कार्यक्रम तथा आरोही सम्मान गरेर मनाइयो भने सन् २०१७ मा अन्नपूर्ण आरोही श्री छिजी नुर्बु शेर्पा लाई पोखरामा बाजागाजा, रथयात्रा सहित बजार परिक्रमा गरेर सम्मान पत्र, नगद तथा दोशल्ला ओढाएर भब्य संमान सहित मनाइएको थियो ।

सन् २०१८ मा अन्नपूर्ण हिमालको काखमा रहेको सुन्दर ल्वाङ गाउँमा बृक्षारोपण र प्रबर्द्धनात्मक घरवास कार्यक्रम टान पश्चिमाञ्चल क्षेत्रीय संघ सँग सहकार्य गरेर मनाइयो । सोही अबसरमा अन्नपूर्ण चौथोको सफल आरोहण गरेका पोखरेली चेलीहरुलाई नगद पुरस्कर सहित सम्मान गरिएको थियो ।

सन् २०१९ मा पनि अन्नपूर्णको काखमा रहेको अर्को सुन्दर ऐतिहासिक गाउँ याङ्जाकोटमा टान सँगकै सहकार्यमा प्रबर्द्धनात्मक घरवास (होमस्टे) कार्यक्रम सहित मनाइएको थियो भने प्रख्यात आरोही श्री मिङमा ग्याबु शेर्पालाई स्वागत अभिनन्दन गरिएको थियो भने बिशेष अतिथिको रूपमा नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष श्री सुदर्शन न्यौपाने को उपस्थिति रहेको थियो ।

बिश्वब्यापी महामारी कोभिड-१९ र त्यसबाट सिर्जित विषम परिस्थितिका कारण गत वर्ष र यो बर्ष सन् २०२१ मा भौतिक उपस्थिति सहितका अन्नपूर्ण आरोही संमान लगायतका कार्यक्रम गर्न नसके पनि नेपाल पर्वतारोहण संघको आयोजनामा एक भर्चुअल अन्तर्कृयात्मक कार्यक्रम गरेर मनाइएको छ ।

Pandemic Impact on Mt. Annapurna शिर्षकको उक्त कार्यक्रम महासचिव कुल बहादुर गुरुङले संचालन गरेका थिए भने कार्यक्रममा फ्रान्सेली राजदूत फ्रान्कोइस जेभियर लेगेर ले आफ्नो मन्तब्य राखेका थिए ।

मन्तब्यकै क्रममा नेपाल पर्वतारोहण संघका सल्लाहकार डा. गणेश गुरुङ, पर्यटन बिज्ञ श्री जुद्ध बहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका म्यादीका अध्यक्ष क्याप्टेन डम बहादुर पुन, अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष युवराज कुँवर, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई समेत ७ जना बक्ताहरुले मौरिस हर्जोग लगायतका शाहशी आरोहीहरु लाई संझिए, उनिहरुको योगदानको चर्चा गरे साथै यस क्षेत्रमा दीगो पर्वतीय पर्यटन बिकासको लागि अब लिनुपर्ने रणनीति बारेमा चर्चा परिचर्चा गरे ।

यही २०७८ बैशाख ३ गते (१६ अप्रिल २०२१) का दिन शिखरमा पुगेर रेकर्ड कायम गरेका नेपाली महिला आरोहीहरु लाई बिशेष सम्मान गरिएको थियो । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका सचिव श्री सुदिप गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष शेषकान्त शर्माले स्थापना काल देखि अहिलेसम्म अन्नपूर्ण आरोहण दिवसको दिन गरिएको कार्यक्रमहरु संक्षिप्त रूपमा बताउनु भएको थियो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष श्री सन्तबिर लामाले धन्यवाद ज्ञापन सहित अन्तर्कृया कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Reply