जापानमा घट्दै कोरोना संक्रमण

सन थापा,

जापान । जापानमा कोरोना संक्रमणको दर पछिल्लो समय घट्दै गएको छ । संक्रमणदर उच्च रहेको प्रान्तमा विभिन्न चरणमा आपतकालीन अवस्था लागू गरेपछि संक्रमण घटेको हो ।

अप्रील २५ देखि टोकियो, ओसाका, ह्योगो र क्योतोमा मे १२ देखि फुकुओका र आइचीमा आपतकाल लागू गरेको थियो । त्यसैगरी मे १६ देखि होक्काईदो, ओकायामा र हिरोसीमा साथै ओकिनावा प्रान्तमा मे २३ देखि आपतकालीन अवस्था लागू गरेको थियो । यी सबै प्रान्तमा जून २० सम्म आपतकाल कायम रहनेछ ।

२४ घण्टामा २५९५ जना संक्रमित ८८ को मृत्यु पछिल्लो २४ घण्टामा २ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८८ जनाको मृत्यु भएको छ । बिहिबार २ हजार ८ सय ३१ जना र बुधबार ३ हजार ३५ जना संक्रमित थपिएका थिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ७ लाख ५८ हजार ५ सय ५१ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १३ हजार ४ सय ८४ जना पुगेको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ६ लाख ९५ हजार ६ सय ६९ जना कोरोना संक्रमित निको भएका छन् । संक्रमितमध्ये १ हजार १ सय ९८ जनाको अवस्था गम्भीर रहेको छ भने ४५ हजार ४ सय १९ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

बुधबार ४१ हजार ६ सय ७२ जनाको पिसीआर परीक्षण गरिएको थियो । आज आठ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ सय ७२, आईचीमा २ सय ६६, ओकिनावामा २ सय ४७, खानागावामा २ सय ३४, होक्काइदोमा २ सय तीन, ओसाकामा १ सय ८९, चिबामा १ सय २१, साईतामामा १ सय दुईजना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू टोकियोमा १ लाख ६२ हजार ८ सय ९३, ओसाकामा १ लाख ५ सय ४६, खानागावामा ६२ हजार ३ सय ४१, आईचीमा ४८ हजार ४ सय ३५, साईतामामा ४४ हजार २ सय ४४, ह्योगोमा ४० हजार ६४, होक्काईदोमा ३९ हजार ३३, चिबामा ३७ हजार ५ सय २३, फुकुओकामा ३४ हजार ४ सय ८०, ओकिनावामा १८ हजार ५५ र क्योतोमा १६ हजार सात जना संक्रमित भएका छन् ।

Leave a Reply