‘वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित’

-


     मर्दी न्युज    
     जेठ २९ गते २०७८ मा प्रकाशित


काठमाडौँ । शुक्रवार बागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यले बोलेको प्रधानमन्त्रीविरुद्धको आपत्तिजनक अभिव्यक्तिप्रति नेकपा एमालेले भर्त्सना गरेको छ । शनिवार विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको हत्या गर्नेबारे दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएको जनाएका छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

प्रदेश सभा बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उनको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिएका थिए । वैद्यको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा समेत आलोचना भएको छ ।

नाथुराम गोट्से भारतमा महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् । वैद्यले आवश्यक परे देशको लागि आफैँ नाथुराम गोट्से बन्न पनि तयार रहेको अभिव्यक्ति दिएपछि दिएका थिए । यस्तो अभिव्यक्तिप्रति काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएकोसमेत उल्लेख गरेका छन् । शर्माले वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहने बताएका छन् ।