कृषिलाई बैकल्पिक पेशा बनाउदै पर्यटनकर्मीहरु

कोभिड-१९ को महामारी बाट सबैभन्दा प्रभावित र तरंगित पर्यटन ब्यबसाय हुनपुग्यो । २०७६ चैत ११ बाट सुरु भएको आंशिक तथा पुर्ण बन्दाबन्दी बाट अहिलेको दोस्रो लहरसम्म आइपुग्दा थुप्रै ब्यबसायिहरु पलायन भइसकेका छन भने विभिन्न तहमा रहेर कामगर्ने मजदुर कर्मचारीहरु पेशा परिवर्तन गर्न बाध्य छन् ।

पोहोर साल बन्दाबन्दी सुरु हुनासाथ मजदुरहरुलाई चामल, दाल लगायतका खाध्यान्न सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुको लर्को लागेको थियो तर यो साल भने तिनीहरु पनि लगभग गुमनाम छन् सायद तिनीहरु आफ्नै अनिश्चित भबिस्य बारे चिन्तित होलान ।

ट्रेकिङ तथा टुर गाइडहरुलाई अरुबेला अबैतनिक राजदुतको उपमाले फुर्क्याउने सरकारी निकायका कर्मचारीहरु र मुख्य जिम्मेवार ब्यक्तिहरु पनि कुनै राहत तथा कल्याणकारी कार्यक्रम ल्याउनेकुरामा उदाशिन देखिन्छन् ।

पर्यटनकर्मीहरु को दिनचर्या तथा रोजिरोटी कसरी चलेको छ? अब फेरि पेशा पुर्ववत अबस्थामा आउनेमा कत्तिको आशावादी छन? लगायतका जिज्ञासाहरु सहित घुम्दै जाने क्रममा आज असार १४ गते पोखरा महानगरपालिका वडा नं. १७ को ढुङ्गेसाँगु मार्ग, बिरौटा फाँटमा पुग्दा ३ जना पर्यटनकर्मीहरु खेतमा रोपाई गर्दै गरेको भेटिए ।

हिजो पर्यटन ब्यबसाय राम्रो संग चलेको बेला ट्रेकिङ र साइटसिइङ्गमा ब्यस्त रहने गरेका पोखरा महानगरपालिका-२६, राखिडाँडाका रामबाबु बस्ताकोटी औसतभन्दा माथिल्लो कोटिका गाइड हुन् । आफ्नै बलबुताले बिरौटामा घरजग्गा र जायजेथा जोडेका उनको दिनचर्या आजकल बदलिएको छ । पोहोरसाल १२ रोपनी जग्गा लिएर धानखेती तथा माछापालन गरेका बस्ताकोटीको माछापालन त्यति सफल नभएता पनि सोचे बमोजिम जेठोबूढो धान भित्र्याउन सकेकोमा खुसी थिए । पोहोर साल पनि कृषिकर्म मा लागेका उनी यस वर्ष थप आत्मबिश्वासका साथमा देखिए । पर्यटन क्षेत्रको निर्भरता घटाउन, शरीरलाई स्वस्थ राख्न, परिवारमा हुने खर्च कटौती गर्न र बालबच्चा लाई कृषिको महत्त्व बुझाउन पनि यतातिर लागेको उनी बताउँछन् ।

कास्कीको मादी गाउँपालिका-५, चितेपानिका दिपक प्रसाद सापकोटा लामो समय ट्रेकिङ गाइडको रूपमा काम गरेर अनुभव बटुलेका ब्यक्ति हुन् । हाल उनी माउन्टेन आई ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. का संचालक तथा टान पश्चिमाञ्चल क्षेत्रीय संघका कार्यसमिति सदस्य समेत हुन् । देश बिदेशको भ्रमण गरिसकेका सापकोटा पनी आफ्नो कठोर मेहनतले बिरौटामै घर बनाएर बसेका छन् । कोरोनाले सिर्जित विषम परिस्थितिले अहिले उनलाई पनि कृषक बनाएको छ । बस्ताकोटी संग परेली लगाएर रोपाइ गरेका उनि पनी बेरोजगार बस्नुभन्दा कृषिमा काम गर्दा आनन्द आएको बताए ।

बाजुरा जिल्ला, बडिमालिका गाउँपालिका-४ बाट पोखरा आइ लामो समयदेखि ट्रेकिङ तथा साइटसिइङ्ग गाइडको रूपमा काम गरेका मिन बहादुर सिह ठकुरीले पनि आफ्नो अथक प्रयासले पोखरा-१७ बिरौटामा घर बनाई बसेका छन् । कुनै बेला आफ्नै ट्रेकिङ कम्पनीका मालिक समेत रहेका उनी बढ्दो अनिश्चितताका कारण कम्पनी कानुनी प्रक्रिया पुर्याएर पुर्ण रूपमा बन्द गरेको सुनाए । जग्गा भाडामा लिएर जेठोबुढो धानको अलावा तरकारी खेती र माहुरी पालन समेत गरेका ठकुरी पनि कुनै न कुनै पेसा गर्नुको विकल्प नभएको बताए ।

अतः सरकार तथा एनजीओ आइएनजिओ को मुख ताकेर सानोतिनो कुराको लागि परनिर्भर बन्नुभन्दा आफ्नो नजीकको र तुलनात्मक रूपमा सहज विकल्प खोज्दै अगाडि बढ्नुनै अहिलेलाई सम्पुर्ण पर्यटन ब्यबसायीहरु तथा श्रमिक कर्मचारीहरु को उत्तम बिकल्प देखिन्छ भन्नेकुरा माथिका तीन युवाहरु उदाहरण बनेका छन् ।

Leave a Reply