अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नयाँ कार्यकारी निर्देशक नियुक्त

-


     मर्दी न्युज    
     असार ३० गते २०७८ मा प्रकाशित


पोखरा । नेपाल पर्वतारोहण संघ मातहत रहेको पोखरा महानगरपालिका वडा नं १७, रातोपैर्हो स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले नयाँ कार्यकारी निर्देशक पाएको छ ।

यस अगाडिका कार्यकारी निर्देशक शंकर बहादुर गौतमले उमेरको हद साथै पारिवारिक कारण देखाएर ६ महिना अगाडि राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

अन्तर्राष्ट्रिय रूपमा समेत चर्चित पोखराको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको दैनिक प्रशासनिक कार्य , त्यसले चर्चेको स्थानीय क्षेत्र खासगरी वडा नं १७ को सामाजिक सार्वजनिक संबन्ध, केन्द्रिय कार्यालय संग चुस्त दुरुस्त सूचना प्रवाह, सुरक्षा ब्यबस्थापन, कर्मचारी प्रशासन र समग्र निजामती र पर्यटकिय संस्थाहरु संग मिलेर काम गर्नुपर्ने भएकोले कार्यकारी निर्देशक पद महत्त्वपूर्ण मानिन्छ ।

सो पदमा पर्वत जिल्लाको बिहादी गाउँपालिका वडानं ४, हाल पोखरा-१७ मा बस्दै आएकी निर्मला कुमारी न्यौपानेले उक्त जिम्मेवारी पाउनुभएको छ । नेपाल पर्वतारोहण संघ, केन्द्रमा रहेको कर्मचारी पदपूर्ति समितिले सम्पुर्ण कानुनी र प्रशासनिक प्रक्रिया पुर्याएर आज एक कार्यक्रम बिच छ महिना करार अबधि रहनेगरि नियुक्ति पत्र प्रदान गरिएको थियो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामाको सभापतित्वमा संपन्न उक्त कार्यक्रम महासचिव कुल बहादुर गुरुङले संचालन गर्नुभएको थियो । केन्द्रका सचिवालय पदाधिकारीहरु, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्यहरु, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष तथा कार्यकारी सदस्यहरु, संग्रहालयका मिडिया संयोजक हरि बास्तोला, पत्रकार अनिशा श्रेष्ठ, संग्रहालयका कर्मचारीहरुको उपस्थित थियो। सोही अबसरमा पुर्व कार्यकारी निर्देशक शंकर बहादुर गौतमलाई ताम्रपत्र सहित संमानपुर्वक बिदाई गरिएको थियो ।

पत्रकारिता पृष्ठभुमिकि न्यौपानेले आफ्नो संक्षिप्त भनाइ राख्दै यो भन्दा अगाडि आफू फरक प्रकृतिको जिम्मेवारीमा भएतापनि संग्रहालयलाई नजिकै बाट नियालेको र यसको बिकास तथा प्रबर्द्धनका लागी आफुसंग अल्पकालीन र दीर्घकालीन कार्ययोजना रहेको साथै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।