पर्वतारोहीहरु द्वारा गण्डकी अल्पाइन क्लब गठन

फोटोः प्रेम गुरुङ

पोखरा । गण्डकी प्रदेशमा पर्वतारोहणको विकास गर्ने उद्देश्यका साथ गण्डकी अल्पाइन क्लब गठन गरिएको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरीको अध्यक्षतामा गठित क्लबमा गण्डकी प्रदेशका आरोही तथा आरोहण सञ्चालकहरु रहेका छन् ।

क्लबमा सुमन गुरुङ उपाध्यक्ष, विनायक जय मल्ल द्वितीय उपाध्यक्ष, गोविन्द गुरुङ सचिव, मनराज गुरुङ सहसचिव, पुरबहादुर गुरुङ कोषाध्यक्ष, अनुप गुरुङ सह कोषाध्यक्ष, प्रेम बहादुर गुरुङ, वीर बहादुर गुरुङ र राम गुरुङ सदस्य रहेका छन् ।

अध्यक्ष नरेन्द्र शाही ठकुरी, फोटोः सामाजिक सञ्जालबाट

गण्डकी प्रदेशको खासगरी गोर्खा र लमजुङ जिल्लामा थुप्रै कीर्तिमानि पर्वतारोहीहरु छन् । नेपालकै पहिलो अन्तर्राष्ट्रिय पर्वतीय गाइड सुनार गुरुङ, प्रेम बहादुर गुरुङ, तुलसिंह गुरुङ लगायतका अग्रजहरु को अगुवाइमा क्लब गठन भएकोले काठमाडौं केन्द्रित पर्वतारोहण गतिविधि, तालिम, मार्केटिङ बिस्तारै प्रदेश स्तरमा आउन खोजेको र यस प्रदेशका चुली तथा चुचुरोहरुले थप महत्त्व पाउनेमा आशावादी हुन सकिन्छ ।

क्लबका उद्देश्यहरु

स्रोतका अनुसार क्लबका निम्न लिखित उद्देश्यहरु रहेका छन् ।
१. गण्डकी प्रदेशका पेशेवर पर्वतारोहीहरू र पर्वतारोहण पेसामा लागेका व्यक्तिहरूको हक, हित सम्बन्धी कार्यमा सहयोग पुर्‍याउने र उनीहरूको सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने ।

२. हिमाल आरोहण तथा साहसिक हिमाली खेललाई रोजगारी र जीविकोपार्जनसँग जोड्न भूमिका खेल्ने ।

३. गण्डकी प्रदेश तथा नेपाली पर्वतहरू, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य र वातावरणको संरक्षण गरी गण्डकी प्रदेशका तथा नेपाली हिमशृंखलाहरुको विश्वमा लोकप्रियता बढाउन प्रवर्द्धनात्मक कार्यहरू गर्ने ।

४. पर्वतारोहण सम्बन्धी क्रियाकलापहरूको संरक्षण, संवर्द्धन र समन्वय गर्दै सम्बन्धित निकायहरूलाई सहयोग र सल्लाह प्रदान गर्ने ।

५. सम्बन्धित निकायको स्वीकृतिमा पर्वतीय पर्यटन, पर्वतारोहण, हिमाली वातावरण स‍म्वन्धी क्षेत्रीय वा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वयात्मक मैत्री सम्बन्ध राख्ने, प्रतिनिधि मण्डलहरूको आदानप्रदान गर्ने र क्षेत्रीय मञ्च स्थापना गर्न नेतृत्व गर्ने, सहभागी हुने ।

६. नयाँ पुस्ता र आरोहीहरूलाई विभिन्न किसिमको आरोहण सम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरी पर्वतारोहण सीप दक्षताको विकास गर्ने ।

७. हिमाली भेगमा अवस्थित माध्यमिक विद्यालयहरूमा पर्यटन तथा पर्वतारोहण सम्बन्धी विषयको ऐच्छिक पाठ्यक्रमसँगै विद्यमान मौलिक धर्म, संस्कृति, प्राकृतिक तथा जैविक विविधताको संरक्षणको लागि अध्ययन गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने ।

८. सम्बन्धित निकायको स्वीकृतिमा उच्च हिम चुचुराहरूको आरोहण सम्बन्धमा समय सापेक्ष शिक्षा, उच्च हिमशिखर आरोहण कला र दक्ष व्यावसायिक तालिम, उद्धार कार्यको प्रशिक्षण जस्ता कार्यका लागि सङ्घलाई क्रियाशील बनाउने ।

९. आरोहणका क्रममा मृत्यु भएका आर्थिक रूपले विपन्न आरोहीहरूको बालबालिकाको आधारभूत निःशुल्क शिक्षा, स्वास्थ्य तथा पालन पोषणका लागि सरकारी तथा गैर सरकारी क्षेत्रसँग आवश्यक समन्वय गर्ने ।

फोटोः प्रेम गुरुङ

१०. पर्वतीय पर्यटनको विकासको लागि सङ्घलाई छाता सङ्गठनको रूपमा स्थापित गराई सङ्घको मातहतमा स्थानीय पर्वतीय इकाईहरूको निर्माण गरी सङ्घमा उनीहरूको समेत सहभागिताको अवसरलाई खुला गर्ने ।

११. मौसम तथा आरोहण गतिविधि तथा सूचना अद्यावधिक गर्न प्रदेश सरकारलाई सहयोग गर्ने ।

१२. राष्ट्रिय प्राकृतिक विपत्तिहरूमा उद्धार सम्बन्धी कार्यहरूको लागि दक्ष आरोहीहरूलाई संलग्न गराउन तथा स्थानीय दक्ष उद्धारकर्ताको उत्पादन गर्न आवश्यक संरचना निर्माण गरी कार्य गर्ने ।

१३. आफ्नो उद्देश्य पुरा गर्न तथा सङ्घको छवि र गरिमालाई बढाउनका लागि सङ्घले आवश्यक ठानेको क्षेत्र र विषयमा केन्द्रित रही अन्य आवश्यक सामाजिक तथा रचनात्मक कार्य गर्ने गराउने ।

१४. गण्डकी प्रदेशवासीहरू तथा नेपालीहरू माझ पर्वतीय तथा हिमाल आरोहण सम्बन्धी खेलकुदहरूलाई लोकप्रिय बनाउने, राष्ट्रिय, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरको खेलकुदको आयोजना गर्ने गराउने, त्यस्ता आयोजनाहरूमा सहभागी हुने ।

गण्डकी प्रदेशका एघार वटा जिल्लाहरु मध्ये छ वटा जिल्ला हिमाली जिल्लाहरु छन् । आठ हजार भन्दा माथीका हिमालहरुमा पहिलो पल्ट आरोहण गरिएको अन्नपूर्ण (८०९१ मि.) हिमाल लगाएत धौलागिरी (८१६७ मि.) र मनास्लु (८१६३ मि.) प्रमुख हिउँ चुचुराहरु समेत रहेका छन् । नेपाल सरकारबाट यस प्रदेश भित्रका १२१ चुचुराहरुलाई आधिकारीक आरोहणका लागि खुल्ला गरिए पनि यस क्षेत्रमा सयौं चुचुराहरु हाल सम्म आरोहण नगरिएको तथा पहिचान हुन बाँकी रहेको परिप्रेक्ष्यमा क्लब गठन हुनु समग्र गण्डकी प्रदेशको पर्वतीय पर्यटनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

Leave a Reply