टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु

सन थापा,
जापान, ८ साउन । विश्व खेलकूदको महाकुम्भ ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह जापानको टोकियोमा आज सुरु भएको छ ।
जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा आतिसबाजी, जापानी सांस्कृतिक झाँकी, जापानी प्रविधिको प्रयोगबाट भव्य रूपमा सुरु भएको हो । मार्चपासमा दुई मिटरको सामाजिक दूरी कायम गरिएको थियो । उद्घाटन समारोहमा जापानका सम्राट नारूहितो, अमेरिकी प्रथम महिला जिल बाईडेन, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष थोमस बाच, टोकियो ओलम्पिक २०२० का अध्यक्ष सेइको हाशिमोतो लगायत बिभिन्न राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कोरोना महामारीका कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिकमा विभिन्न ३३ खेलमा २ सय चार देश र शरणार्थी टीमका करीब ११ हजार भन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन् ।
यसपालि नेपालका पाँच खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
ओलम्पिकमा सहभागी हुन आएका २१ खेलाडी र टीमका सदस्य गरी १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच ओलम्पिकका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै केही नागरिकले रंगशाला बाहिर बिरोध जनाएका छन् । ५७ वर्ष अघि सन् १९६४ मा पनि ग्रीष्मकालीन ओलम्पिक टोकियोमा सम्पन्न भएको थियो ।

Leave a Reply