सफाई मास्टरको वियोग

गिद्धको एक झुण्ड, फोटो मनशान्त घिमिरे

कृष्णप्रसाद भुसाल, अर्घाखाँची । पोखराका गिद्ध संरक्षण अभियन्ता तथा फोटो पत्रकार कृष्णमणी बरालले सन् २०११ फ्रेबुवरी ८ मा सामाजीक सञ्जाल फेसबुकमा पोखराको सिमसार क्षेत्र फेवातालको दलदलमा डुबिरहेको सिनोलाई गिद्धहरु बडो कष्टपुर्ण तरीकाले लुछीरहेको तस्वीर पोष्ट गर्नुभएको थियो ।

दशक अघी मेरो गिद्धको अनुसन्धान र संरक्षण यात्राका ती सुरुवातका दिन ताकाको उक्त तस्वीरले मलाई गिद्धको महत्व बुझ्न निकै सघायो । यदी त्यहा गिद्धको उपस्थिती नभैदिएको भए, सिनो यक्तिकै पानीमा सड्थ्यो जसले पानी प्रदुषीत हुन्थ्यो भने वरपरको वातावरण दुर्गन्धित । जिवीत जिवजन्तुको शिकार नगरी केवल मरेका जनावरको मासु अर्थात सिनो र मासुजन्य फोहोर पदार्थ मात्र खाने गिद्धले हाम्रो वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउंन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन । त्यसैले गिद्धलाई ‘प्रकृतीको कुचिकार’ अथवा ‘सफाइ मास्टर’ पनि भनिन्छ ।

सिमसारमा सिनो खान एक आपसमा लढ्दै गिद्धहरु, फोटोः कृष्णमणि बराल

सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको संख्यामा बृद्धिलाई रोकी मानिसमा रेविज, प्लेग, हैजा, आँऊ, झाडापखाला आदि सरुवा घातक रोगहरू र पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरुको महामारी बाट बचाउछ । यसर्थ गिद्धले परापुर्वकाल देखी नै पर्यावरणीय चक्र र सनातन खाद्यसृङखला सन्तुलन र गतिशिल बनाउदै पारिस्थितिकिय स्वस्थताको सूचक रुपमा काम गरीरहेका छन । एक अध्ययन प्रतिवेदन अनुसार एयटा गिद्धले करीव ११ हजार अमेरीकी डलर बराबरको सिनो सफाईमा योगदान पु¥याउने उल्लेख छ ।

करिव तिन दशक अघिसम्म पनि तपाई हाम्रो गाउँटोल वरपर सयाँैको संख्यामा गिद्धहरु सिनोमा लुछाचुंडी गरिरहेका सहजै देख्न सकिन्थ्यो । तर पछिल्लो दशकसम्म आउँदा ती दृश्यहरु अति विरल बन्दै गए र यत्रतत्र सर्वत्र पाईने तिनै गिद्धहरु यस धर्तीबाट सदाका लागि लोप हुने अवस्थामा पुगे ।

अति संकटापन्न डंगर गिद्धको एक अल्पबयस्क, फोटोः मनशान्त घिमिरे

सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौ र नेपालमा लाखौको संख्यामा पाईने गिद्ध ९०% भन्दा बढीले घटी आज केही हजार र कतिपय प्रजाती त सयको सख्यामा मात्र सिमीत हुन पुगेका छन् । दक्षिण एशियामा यस प्रकारको अकल्पनिय गिद्ध विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने पिडानाशक औषधी डाइक्लोफेनेक हो ।

गिद्धको यस प्रकारको विनाशबाट वातावरणमा सिनो बाट उब्जने प्रदुषण र मानविय स्वास्थ्यमा प्रतिकुल असर बढदै जादा गिद्ध जोगाउँने अभियानलाई नेपाल सरकार, सम्बन्धित सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, संरक्षणकर्मी, सरोकावाला निकाय र स्थानिय समुदायले आत्मसाथ गरेको देखिन्छ ।

नेपाल सरकारले गिद्ध संरक्षण गरी पर्यावरणीय सन्तुलन र वातावरणीय स्वस्थता कायम गर्न ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९—२०१३’ र दोस्रो पञ्चवर्षिय कार्ययोजना सन् २०१५–२०१९ को सफल कार्यवन्यन पछी अहिेले तेस्रो पञ्चवर्षिय कार्ययोजना निमार्णको चरणमा छ ।

नेपाल सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था, सरोकारवाला निकाय, अनुसन्धानकर्ता र स्थानिय समुदायको साझेदार प्रयासमा पछील्ला वर्षहरुमा नेपालमा गिद्धको घटने दर रोकिएको छ भने केही प्रजातीको त संख्या बढ्दो अवस्थामा छ । समुदायमा आधारीत संरक्षण अभ्यासबाट प्राप्त यो सफलता निश्चय नै देश र सिङ्गो संरक्षण समुदायको लागि गौरवको कुरा हो ।

तर बिडम्वना पछील्ला दिनहरुमा गिद्ध मृत्युका घटनाहरु ब्ढन थालेको आभास भएको छ । उदाहरणको लागि नवलपरासीको रामग्राममा ६९ भन्दा बढी गिद्ध मृत्युको हालैको घटनालाई पनि लिन सकिन्छ । सिनोमा विषको प्रयोग, व्यापक रुपमा बिस्तारीत विद्युतीय तारहरु, बासस्थान बिनाश, सुरक्षीत आहारको अभाव, गिद्धको घना बासस्थान र विचरण क्षेत्रहरुमा ठुला भौतिक संरचनाको निर्माण र गिद्धको लागि हनिकारक प्रमाणीत भैसकेका पशु उपचारमा प्रयोग गरीने एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाईड जस्ता औषधीको बढदो प्रयोग गिद्ध संरक्षणमा चुनौतीको रुपमा खडा भएका छन । गिद्धको वियोग रोक्नको लागी आम समुदायको हातेमालोमा बृहत भु–दृश्य स्तरमा स्थानिय देखी अन्तरदेशीय साझेदारीमा गिद्ध संरक्षण अभियान संचालन गर्नु गिद्धको दिगो संरक्षणको लागि आवस्यक छ ।

राज गिद्ध, फोटोः मनशान्त घिमिरे

यसै सन्द्रभमा आज भाद्र १९, अर्थात् सेप्टेम्बर ४ को दिन तेह्रौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश नेपालका साथै संसारभर मनाईदै छ । प्रत्येक बर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाईन्छ । यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवशबाट विकसित भई सन् २००९ बाट अन्तराष्ट्रिय दिवशको रुपमा मनाउन थालिएको हो ।

संकटापन्न सेतो गिद्ध, फोटोः मनशान्त घिमिरे

नेपालमा पनि आजको दिन बर्तमान कोभिड संक्रमणबाट बच्न आवस्यक स्वास्थ्य मापदण्डको पालना गर्दै सचेतनामुलक कार्यक्रम र गिद्ध गणना गरी मनाईदै छ । गिद्ध संरक्षण गरी प्रदुषित, दुर्गन्धित र रोगमुक्त वातावरण बनाउदै पर्यावरणीय चक्र र खाद्यसृङखलाको सनातन गतिशिलता कायम राख्ने अभियानमा हातेमालो गरौ । सफाइ मास्टरको बियोगलाई रोकौ । गिद्ध दिवशको सबैमा शुभकामना ।

भुषाल गिद्ध बायोलजिस्ट तथा आईयुसीयन गिद्ध बिज्ञ समुह नेपालका सदस्य हुन् ।

Leave a Reply