भोलि देखि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आगन्तुकहरु को लागि खुल्ला गरिदै

फोटोः मनशान्त घिमिरे

पोखरा । नेपाल पर्वतारोहण संघ मातहत रहेको पोखरा-१७, रातोपैर्हो स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आगन्तुकहरुको लागि भोलि भदौ २३ गते बुधबार देखि खुल्ला हुने भएको छ । कोरोना (कोभिड–१९) भाइरसको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिएको र सोही कारण कास्की जिल्ला प्रशासनले बैशाख १५ गतेदेखि विभिन्न अबधिका बन्दाबन्दी (लकडाउन) घोषणा गरेको कारण संग्रहालय बन्द गर्नुपरेको थियो ।

आगन्तुकहरुको लागि बन्द गरिएतापनि संग्रहालय परिशर भित्र सुचारु निर्माण, मर्मतका काम, सरसफाइ तथा सौन्दर्यिकरणका कार्यहरू यथावत रूपमा चलेकोले यहाँ कार्यरत कर्मचारीहरु आफ्नो कार्यतालिका बमोजिम उपस्थित भइ सक्रियता पुर्वक काममा खटिएको संग्रहालयका कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेले बताउनुभयो । संग्रहालय बिहान नौ बजे देखि बेलुका पाँच बजे सम्म खुल्ला रहने तथा हप्ताको सातैदिन खुल्ने भएतापनी सामाजिक दुरि कायम राख्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने लगायत नेपाल सरकारले तोकेका स्वास्थ सुरक्षा मापदण्ड भने कायम रहेको समेत उहाँले जोड्नु भयो ।

बिदेशी पर्यटकहरुको मुख्य रोजाइमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय यसको मुख्य भबन तथा त्यसभित्रको आकर्षणहरु को अलावा धातु निर्मित चौरीको वास्तविक साइजको मुर्ति, मनास्लु हिमालको प्रतिरुप, हालै निर्मित बोटानिकल गार्डेन, सुन्दर पुल, भब्य र चिरिच्याट्ट परेको रेष्टुरेण्ट आदिका कारण सामुहिक तस्वीर खिच्ने, टिकटक तथा छोटो भिडियो बनाउने लगायतका स्वदेशी पर्यटक तथा युवा पुस्ताका लागि संग्रहालय परिसर पछिल्लो समय निर्बिकल्प गन्तव्य बन्दै गरेको थियो ।

Leave a Reply