जापानमा थपिए ८८०७ जना कोरोना संक्रमित, ५६ जनाको मृत्यु

सन थापा, जापान । जापानमा शनिबार ८ हजार ८ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५६ जनाको मृत्यु भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा कोरोना संक्रमितको कुल संख्या १६ लाख ३४ हजार ४ सय ८३ पुगेको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १६ हजार ७ सय ७७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । १४ लाख ६२ हजार २ सय २९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

दुई प्रान्तमा १ हजार भन्दा बढी र १५ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा १ हजार २ सय ७३, ओसाकामा आईचीमा ९ सय ७०, खानागावामा ८ सय ६२, साईतामा ७ सय ८०, ह्योगोमा ५ सय सात, चिबामा ४ सय २९, फुकुओकामा ३ सय ७८ जना संक्रमित थपिए ।

संक्रमितमध्ये २ हजार १ सय २५ जनाको अवस्था गम्भीर रहेको छ । १ लाख ४० हजार ९ सय ४६ जनाको उपचार भइरहेको छ । बिहीबार ६० हजार ९ सय ६२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

एक नेपालीको मृत्यु

यसैबिच जापानको आइची प्रान्तको नागोयामा बस्ने ३८ वर्षीया बेलु पुनमगरको कोरोना संक्रमणका कारण शुक्रबार राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका १० पाण्डवखानी घर भई हाल पारिवारिक भिसामा पतिसँग जापान बस्दै आएकी उनको नेपालमा दुई छोरा र एक छोरी रहेको जनाईएको छ ।

बेलु पुनमगर

दुई हप्ताअघि कोरोना संक्रमणमुक्त भएकी पुनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा अन्य बिरामीहरूलाई देखेर ढलेको र उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

Leave a Reply