जापानमा १ सय वर्ष पुगेका ज्येष्ठ नागरिकको संख्या ८६ हजार

सन थापा, जापान (क्योतो)। जापानमा १ सय वर्ष पुगेका जेष्ठ नागरिकको जनसंख्या ८६ हजार ५ सय १० जना रहेका छन् । सेप्टेम्बर १ सम्म जापानको आधारभूत बासिन्दामा पञ्जीकृत भई सेप्टेम्बर १५ मा १ सय वर्ष पूरा हुने नागरिकको उक्त तथ्याङ्क स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।

तथ्याङ्क अनुसार महिला ७६ हजार ४ सय ५० (८८प्रतिशत) र पुरुष १० हजार ६० जना (१२ प्रतिशत) रहेका छन् । यो गतवर्ष भन्दा ६ हजार ६० जना धेरै हो । सन् १९७० मा यो उमेर समुहको जनसंख्या ३१० जना रहेकोमा ५१ वर्ष देखि यो संख्या बढ्दै आएर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।

प्रति १ लाख जनसंख्यामा १ सय वर्ष पुगेका ज्येष्ठ नागरिक सबैभन्दा बढी सिमाने प्रान्तमा १३४.७५ जना, कोची प्रान्तमा १२६.२९ जना र खागोसीमा प्रान्तमा ११८.७४ जना रहेका छन् । त्यस्तै सबैभन्दा थोरै साईतामा प्रान्तमा ४२.४ जना, आइची प्रान्तमा ४४.४२ र चिबा प्रान्तमा ४९.१२ जना रहेका छन् । सबैभन्दा धेरै उमेरका जापानी नागरिक फुकुओका प्रान्तमा बसोबास गर्ने काने तानाका हुन् ।

१ सय ११ वर्षीय मिकिजो उएदा, फोटो: एनएचके

सन् १९०३ जनवरी २ मा जन्मिएकी उनी गतवर्ष (१ सय १८ वर्ष) विश्वमा हाल सबैभन्दा बढी उमेरका जीवित नागरिकको रूपमा गिनीज वर्ल्ड रेकर्डमा दर्ता भएकी हुन् । त्यस्तै सबैभन्दा बढी उमेरका पुरुष जापानी नागरिक नारा प्रान्तमा बसोबास गर्ने १ सय ११ वर्षीय मिकिजो उएदा हुन् ।

Leave a Reply