सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोज्यो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधको कारणले बजेट समयमा पारित नभएको भ्रम सिर्जना गरिएको बताएको छ । महासचिव ईश्वर पोखरेलले बुधबार प्रेस वक्तव्य जारी गर्दै बजेट सरकारकै प्राथमिकतामा नरहेको उल्लेख गरेका छन् ।

सरकारका कारण अहिलेको परिस्थिति आएको एमालेको आरोप छ । विज्ञप्तिमा भनेका छन्, ‘आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुनपुगेको हो ।’

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सारेको विषयमा सरकारले जवाफ दिनुपर्ने पनि एमालेले उल्लेख गरेको छ ।३० भदौभित्रै बजेट पारित गर्नुपर्ने बिर्सेर संसद बैठक ४ असोजमा सारिएको भन्दै एमालेले आपत्ति जनाएको छ । ‘आफूलाई इच्छा लागेको विजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो ?’ वक्तव्यमा उल्लेख छ । महासचिव पोखरेलले भनेका छन्, ‘यो नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चालमात्र हो । सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा एमाले खेद व्यक्त गर्दछ ।’

सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply