चितवनमा थपियो नयाँ चरा

-


     मर्दी न्युज    
     असाेज ६ गते २०७८ मा प्रकाशित


फोटो: रामकृष्ण महतो

रमेश चौधरी, चितवन । चितवनमा धवल अर्जुनक नामक नया प्रजातिको पन्छी फेला परेको छ। अंग्रेजी नाम ब्राउन ब्रेस्टेड फ्लाईक्याचर भनिले यस प्रजातिको वैज्ञानिक नाम मुसिकापा मुतुइ हो ।

नेपालको लागि फिरन्ते प्रजातिको चरा भएपनि चितवनमा भने पहिलो पटक बाराही जंगल लजका नेचर गाइड श्री सगर विश्वकर्मा र राजिव कुमालले अन्द्रौली मध्यवर्ती सामुदायिक वनमा यहि असोज ४ गतेका दिन पन्छी अवलोकन गर्ने क्रममा देखि फोटो खिचेका थिए ।

सो चरालाई पहिचान र प्रमाणीकरण गर्नको लागि बर्ड एडुकेशन सोसाईटीका अधक्ष श्री रमेश चौधरी, कार्य समिति सदस्य श्री रामकृष्ण महतो, मान कुमार चौधरी, गोविन्द थनेत र कृष्ण पौडेल अन्द्रौली मध्यवर्ती सामुदायिक वनमा गई चरा लाई देखि र फोटो खिच्नु भएको थियो । यस प्रजाति भेटिए सँगै चितवनमा चराको संख्या ६५८ पुगेको छ ।

फोटो: रामकृष्ण महतो

टाउको देखि पुच्छर सम्मको लम्वाई केवल १३.१४ सेन्टिमिटर हुन्छ र यसको वजन लगभाग १०.१४ ग्राम सम्मको हुन्छ । यसको रंग खैरो हुन्छ, माथिल्लो पेटको रंग अलि गाढा खैरो हुन्छ भने चुच्चो र खुट्टाको रंग गहुँ गोरो हुन्छ । अरु अर्जुनक को तुलनामा यसको चुच्चो अलि लामो हुन्छ र आँखाको रिङ्ग सेतो हुन्छ ।

उत्तर -पूर्वी भारत, चीनको मध्य र दक्षिणी भागमा, बर्माको उत्तरी भागमा र थाइल्याण्डमा बच्चा प्रजनन गर्दछ भने आक्कल झुक्कल नेपालमा वन-विहार गर्दै दक्षिणी-भारत र श्रीलंका सम्म पुग्ने यो प्रजाति समुन्द्र सतह देखि लगभग १३५ देखि १३३० मिटर सम्मको उचाइको चौडापाते वनमा आहार बिहार गर्ने गर्दछ ।

नेपालमा पहिलो पटक ६ सेप्टेम्बर सन् १९८७ मा सुधिर व्यासले रानीवारी र अक्टोवर ४ मा चतरामा देखेका थिए । त्यसपछि, सन् २०१७ देखि सन् २०२० सम्ममा पटक पटक रानीवारी, शिवपुरी, नागार्जुन र टोखामा पन्छी अवलोकनकर्ता हरुले देखेका येथ्येष्ट प्रमाण हरु नेपालको संकटापन्न पन्छी सम्बन्धि रातो कितावमा उल्लेख गरिएको छ । पोखराको मेथलांग वन क्षेत्रमा मनशान्त घिमिरे लगायत पोखरा पन्छी समाज का अन्य सदस्यहरुले सन् २०१९ को अगस्त महिनामा देखेका थिए । 

पंछी अबलोकनकर्ताहरु

वासस्थानको विनाश, अवैध शिकार, गुलेली हान्ने र पासो थाप्ने गस्ता गतिविधि नै यस पन्छीका लागि खतरा का कारण हरु हुन् । हाल संकट अवस्थामा नपरेतापनि यदि बिध्मान खतरा का कारकहरु लाई नियन्त्रण गर्न नसकेमा निकट भविष्यमा संकटमा पर्न देखिन्छ । तसर्थ, वन विनाश, पासो थाप्ने र गुलेलि हान्ने जस्ता गतिविधि समयमा नै नियन्त्रण गर्नु पर्दछ ।

चौधरी बर्ड एजुकेशन सोसाईटीका अध्यक्ष तथा पन्छी बिद हुन्